हिन्दु धर्ममा पशुबली किन ?
के बलीप्रथा वैज्ञानिक छ ?
पशुबलीलाई हिन्दुधर्मको एउटा कुरीतिको रुपमा
हेरिँदै आएको छ | तर सारा विश्वलाई प्रभाव पार्ने सनातन धर्मको यस परम्परामा कतै
वैज्ञानिकता छ कि ? आउनुहोस् एकछिन खोजौं |
हिन्दुधर्म अन्तर्गतको तन्त्र-परम्परामा पशुबलीको
प्रचलन रहीआएको छ | नेपाल, भारतको बंगाल तथा तिब्बत आदि ठाउँहरु तान्त्रिक
क्षेत्रमा पर्दछन् | यसकारण, यी ठाउँहरुमा बली-प्रथाको अचाक्ली नै छ | तन्त्रमा
महाकाली आदि दिव्य-शक्तिहरुको आराधना गरीन्छ | उक्त कार्यमा बलि दिने चलन चलेको
देखिन्छ | अब प्रश्न उठ्न सक्ला कि बली-परम्परा किन सुरु गरियो ? यसको उत्तर यस
प्रकार छ:
तन्त्रसाधनालाई विशेषगरी ३ भागमा बाँड्न सकिन्छ
:
१) पश्याचारी साधना
२)
विराचारी साधना
३)
दिव्याचारी साधना
तन्त्रमा पाँचवटा “म” ले युक्त मानिसलाई पशु
भनिन्छ | ती हुन् : मांश (मासु खानमा आसक्त ), मत्स्य (माछा खानमा आसक्त ), मद( जाडरक्सी
तथा अरु नशामा आसक्त ), मुद्रा ( रुपैयाँ-पैसामा आसक्त ) र मैथुन (
योन-क्रियाकलापमा आसक्त) | यस्ता पशुतुल्य मान्छेलाई पशुताबाट छुटाएर सहि मान्छे
बनाउने साधनालाई पश्याचारी साधना भनिन्छ | विराचारी साधनाले मानवलाई दिव्यता दिन्छ
भने दिव्याचारी साधनाले दिव्य मानवलाई ईश्वर ( परम् सत्य )को नजिक पुराएर
पूर्ण-जीवन दिन्छ |
यहाँ पशुबलीको प्रसंग पश्याचारी साधनासँग
जोडिएको छ | सधैँ खानामा मासु नभई नहुने पशुतुल्य मानिसलाई असली मानव बनाउने
पश्याचारी साधनाको एउटा अंग हो | यसअन्तर्गत साधना गर्ने व्यक्तिलाई दिनहुँ मासु
खान रोक लगाइन्छ | उसले मांश-भक्षण गर्नको लागि निश्चित समय जस्तै महिनामा एक-पटक
फलानो देवीको यतिपटक जप र पूजा गरेर देवीलाई पशु चढाएर मात्र खान पाइने विधान
बनाइन्छ | यस साधनाको अभिप्राय यो थियो कि जो व्यक्ति दिनहुँजसो मासु खान्छ,
उसलाई विस्तारै-विस्तारै यो बानी छुटाउने | बली दिनु अघि देवीको ध्यान-मन्त्रजप
गर्नैपर्ने नियम हुन्थ्यो | यसो गर्दा-गर्दै पछि गएर साधकमा सत्वगुण विकास भएर
ध्यान-जपमै आनन्द आउन थाल्थ्यो र उसलाई पशुको बली दिने सोंच नै आउँदैनथ्यो | यसरी,
तत्कालिन समयको बलिप्रथा एउटा मनोवैज्ञानिक थेरापी थियो मानिसको मासु खाने
प्रवृत्तिलाई निरुत्साहित र निर्मूल गर्ने ! अर्थात् यसरी दिनहुँको काटमार
रोकिन्थ्यो र बलीप्रथाको आडमा
दीर्घकालमा समाजका सम्पूर्ण
मानिसहरुको मासु खाने प्रवृत्तिलाई निर्मूल पारी सहि मानव र सत्वगुणी समाजको
निर्माण गरिन्थ्यो | यो थियो हिन्दुधर्मको सहि र मनोवैज्ञानिक बली-परम्परा |
तर आजको विडम्बना दर्दनाक छ | आजकल उपर्युक्त
तान्त्रिक जप-साधनाको उपेक्षा गरी केवल मासु खानको लागि बली दिने गरीन्छ र दिनहुँ
वधशालामा हजारौँ-लाखौँ पशुहरु पनि काटिएकै हुन्छन् | यसरी, हिन्दुधर्मको
बली-परम्पराको सहि अर्थ नबुझी, यसको अपव्याख्या गरेर जिब्रोको स्वाद मेट्नेहरुको
संख्या समाजमा बढ्दो छ | यसबाट प्रष्ट हुन्छ कि बली-प्रथा पूर्णतया वैज्ञानिक थियो तर यसको गलत व्याख्याले निरीह पशुहरुको
कटानी बढ्दो छ | यस विषयमा जागरुक व्यक्तिहरु प्रखर रुपमा लागेर बली-परम्पराको
वास्तविक अर्थलाई समाजमा पुनः प्रतिष्ठित गर्नु आजको आवश्यकता हो जस्तो लाग्छ |
हरि ओम् तत्सत् !
लेखक : श्रीधर
आचार्य
(योग-जिज्ञासु र हिन्दुधर्मको वैज्ञानिकताबारे
खोज गर्ने व्यक्ति हुन् | उनी बुढानीलकण्ठ आश्रमका संस्थापक गुरु स्वामी
चन्द्रेशका चेला हुन् |)
सम्पर्क : sanepalese3@gmail.com
No comments:
Post a Comment